गत शुक्रबार र शनिबार नेपालयको 'आर'सालामा संगीतकार न्ह्यू बज्राचार्यको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले संगीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो । गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो सांगीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिले गीत सुनाउँदा उनले केही वर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए । लासमितको स्वरमा रेकर्ड भएको 'नआऊ सपनाभरि' संगीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता देखिन्थ्यो ।
त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउँदै 'अघिअघि जिन्दगी' सुनाएका थिए । तेस्रो प्रस्तुतिमा गीतकार विप्लव प्रतीकको काव्यात्मक गीत 'एउटी सानी परी' रहेको थियो । यसपालीको कार्यक्रमलाई कवि विप्लवले नै सञ्चालन गरेका थिए । सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द 'आधी बाटो हिंडेपछि' सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्यो ।
कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जिएको थियो । उनले अरूणा लामाको स्वरमा रेकर्ड भएको 'यो मन त तलाउ हो' लाई कुशलतापूर्वक प्रस्तुत गरेकी थिइन् । राजेन्द्र थापाको यस गीतपछि बानिकाले विभिन्न चरणमा 'तिमी बाहेक', 'खाटा बसेछ', 'ए ऐना' र 'छाएछ बसन्त' बोलका गीतहरू प्रस्तुत गरेकी थिइन् ।
न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए । कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भए । बानिका प्रधानको गायनलाई संगीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गरेका थिए ।
कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए । जसमा 'मेरो प्यारो', 'पागल', 'अरबौं मान्छेहरूमा', 'जय होस्' बोलका गीतहरू रहेका थिए । आनी छोइङको स्वरमा लोकप्रिय बनेको 'फूलको आँखामा' गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए । यसपालीको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा शम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुवेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ थियो ।
शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो– 'न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियो; त्यो मेटियो मात्र होइन; गज्जबको प्रस्तुति भयो। दामी कार्यक्रम ।' 'आजको साँझ अविष्मरणी साँझ रह्यो । न्ह्यूको संगीत त सुन्दर छँदैछ; उसको सेन्स अफ ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो,' यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लव प्रतीकको प्रतिक्रिया थियो ।
आगामी अगष्ट महिनाको पलेँटीमा संगीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको पलेँटी संयोजक आभासले जानकारी दिए। रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, संगीतमा क्रियाशील कलाकार हुन् । अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार दुवालका सृजनाहरू समेटिएको पलेँटी हुनेछ ।
कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।