टेलिसिरियलका चर्चित कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म 'झरीपछिको इन्द्रेणी' को छायांकन सुरू गरेका छन् । बिहीबार साउन १५ को अवसर पारेर ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा मुहूर्त पूजा गर्दै छायांकन थालिएको हो ।
पशुपति शिवजी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अर्जुन घिमिरेको निर्देशनमा बन्नेछ । काठमाडौं, ललितपुर र भक्तपुरमा यसको छायांकन हुने निर्माणपक्षले जनाएको छ । डेढ महिनाको सेडयूलसहित छायांकन थालिएको हो ।
फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, अर्जुन घिमिरे (पाँडे), निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारहरूको मुख्य अभिनय रहनेछ । फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले झन्डै एक दशकपछि कमब्याक गर्दैछन् ।
फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा, विशाल घिमिरेको सहायक निर्देशन रहनेछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको यसमा एउटा गीत रहने जनाइएको छ ।
काठमाडौंभित्रकै परिवेरमा रहेर बाबुछोराको कथामा पारिवारिक फिल्म निर्माण हुन लागेको जनाइएको छ । फिल्म बुद्ध थापाले खिच्दैछन् । चर्चित सिरियल 'सक्किगोनि' गर्दागर्दै सिरियलको टिमले फिल्म 'लाज शरणम्' बनाएको थियो । यसमा अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार थिए। उक्त फिल्म कुमार कट्टेलले निर्देशन गरेका थिए । 'झरीपछिको इन्द्रेणी' अर्जुन घिमिरेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म हो ।