शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ ले दर्शकको मन जित्न थालेको छ । असारको पहिलो साता नै म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको यो सर्ट फिल्मले बिस्तारै भ्युअर्स बढाउँदै गएको छ ।
२१ मिनेट ५१ सेकेण्ड लामो यो फिल्मले हालसम्म ४५ हजार बढी भ्युज पाएको छ भने दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यो सर्ट फिल्म हेर्ने दर्शकमध्ये केहीले यसलाई मार्मिक तथा यथार्थपरक विषयवस्तुमा आधारित जीवन्त प्रस्तुति भन्दै निर्माण टीमलाई नै वधाइ दिएका छन् ।
कुमारमान बज्राचार्यले निर्देशकलाई सम्बोधन गर्दै लेखेका छन्– ‘प्रिय शैलेन्द्र भाइ, तपाईंको छोटो चलचित्रले साँच्चै मेरो मन छोयो । यो हेर्न लायक कथा हो—यसले हामीलाई हाम्रा बच्चाहरू बिनाको जीवन कस्तो हुन्छ भनेर गहिरो रूपमा सम्झाउँछ । यो भावनात्मक र अर्थपूर्ण छ, र यसले तपाईंलाई परिवारको मूल्य र ती साना क्षणहरूलाई साँच्चै मनन गर्न बाध्य पार्छ, जुन हामी प्रायः सामान्य रूपमा लिन्छौं ।’
‘इम्प्टि बोट्ल्स, ब्ल्याङ्क पेपर्स’ उप–शीर्षकसहित सार्वजनिक भएको यो सर्ट फिल्मले वर्तमान यूवा पुस्ताको विदेशिने मोहले विदेशकै बसाईका कारण स्वदेशमा वृद्ध–वृद्धाहरूले भोगिरहेको एक्लोपन तथा उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ ।
यो फिल्ममा कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंहका साथमा अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनय गरेका छन् । प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन तथा सशक्त संवादले यो फिल्म दर्शकका लागि प्रभावशाली बनेको छ । यो फिल्मले दर्शकलाई आत्म विश्लेषण गर्न वाध्य पार्ने भावनात्मक सन्देश दिन खोजेको छ ।
यो सर्ट फिल्मको प्राविधिक पक्षमा किरण श्रेष्ठ, सन्दीप श्रेष्ठ (सम्पादन), निराजन सेढाइ (छायाङ्कन), बिपिन स्थापित (साउन्ड डिजाइन), राजेन्द्र मोक्तान (रङ्ग संयोजन) तथा रोमन बज्राचार्य (पाश्वर्य सङ्गीत) लगायतको भूमिका उल्लेखनीय रहेको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति ‘खाली सिसी नयाँ कागज’ सर्ट फिल्म कम्पिटिसनको उत्कृष्ट १० मा पर्न सफल भएको फिल्म हो ।