फिल्म ‘कोशोढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । तीजको डान्सिङ गीतपछि निर्माण टिमले आज प्रेमिल गीत ‘भंगेरा भगेरी’सार्वजनिक गरेको हो । प्रेममा रहेका युवायुवतीले एकले अर्कालाई सँगै जीवन बिताउन आग्रह गर्दै सुखी जीवन यापनका लागि आम्दानीको स्रोत के हो भन्ने प्रश्न समेत गरेको छ ।
जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने गीतले प्रेमसँगै जोडिएर आउने भविष्यको समस्यालाई पनि दर्शाउने प्रयास गरेको छ । प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै सरकारी जागिर रहेको भन्दै लोभ्याउनेदेखि कति तलब छ भनेर सोधेको प्रसंगसमेत गीतमा छ । भंगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएकोे गीतमा बैंश साट्ने मायालु जोडीको कथा छ ।
गीतमा स्वर रिदम कँडेल र बेनिशा पौडेलको छ भने संगीत रिदम कँडेलको छ । शब्दरचना बिदुर तिमल्सिना (देवदूत)को छ । गीतको भिडियोमा सुरक्षा पन्त र मन्जिल कुमारको नृत्य छ । यसअघि, सार्वजनिक भएको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ अहिले टिकटकमा हिट छ । सरोज पौडेलले निर्देशन गरेको फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ फिल्म प्रतिक्षित सिनेमा बनेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । ‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
बाबु श्रेष्ठले छायांकन गरिरहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।
‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो फिल्म डायस्पोरामा नेपाली फिल्मकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ फिल्म प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।