नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार काठमाडौैंमा एक कार्यक्रमबीच संघले बधाई तथा सम्मान प्रदान गरेको हो समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेरराज गिरी र भीमा मैनालीलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा संघको २० औं साधारण सभाको उपलक्ष्यमा प्रदान गरिने ‘कलाकार सम्मान’ पनि वितरण गरिएको थियो, जसअन्तर्गत अभिनेत्री गीता अधिकारीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्ड तथा समितिमा नियुक्त पदाधिकारीहरूलाई बधाई तथा सम्मान गर्ने परम्परालाई संघले निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो । अध्यक्ष निरौलाले चलचित्र विकास बोर्डले वि.सं. २०२६ को ऐन विस्थापन गरी नयाँ ऐन लागू गर्ने प्रक्रियामा अगाडि बढेकोमा शुभकामना तथा धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले बोर्डको हालको नेतृत्व सराहनीय भए पनि अझै चलचित्रकर्मीहरू र चलचित्र उद्योगको हितमा थप काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सम्मानित प्रतिनिधिहरूको तर्फबाट चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी र जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल, महासचिव सविन श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, निर्देशक माधवराज खरेललगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । संघका सदस्य गोपाल ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको उक्त कार्यक्रम संघका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।