यस पटकको वडा दसैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र 'बलिदान'ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो ।
निर्देशक सन्तोष सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, "यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।"
चलचित्रमा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ चलचित्रमा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन् । निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, "जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।"
त्यस्तै, संवेदनशील र गहिरा भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, "जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन् ।"
अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन् । निर्देशकका अनुसार, "उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन् ।" साथै, निर्देशक सेन आफैँ पनि चलचित्रको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन् । आफूले निभाएको पात्रबारे उनले लेखेका छन्, "एक यस्तो पात्र, जो केवल कथा भित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ ।"
यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि व्यापक चर्चा बटुलेको थियो ।
यस्तै, चलचित्रको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्याउँदै निर्माताले देशभर 'बलिदान ब्यानर' अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानरहरू राखिएका छन् । 'बलिदान'लाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी चलचित्रहरूको भीडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले जनाएका छन् । 'आसुसेन फिल्म्स् प्रा.लि.'को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।