फ्राइडे रिलिज अन्तर्गत आज साउन २३ गते शुक्रवारदेखि देशभरिका सिनेमा हलहरुमा दुई नयाँ नेपाली फिल्महरु ‘मोहर’ तथा ‘सिटोमाल’ प्रदर्शनमा आएका छन् । सिनेमा हलहरुले ओम प्रतिकद्वारा निर्देशित ‘मोहर’ तथा राज बहादुर सानेद्वारा निर्देशित ‘सिटामोल’ अर्थात दुबै फिल्मलाई राम्रा शोहरु उपलब्ध गराएका छन् । दुबै फिल्मको दुई दिन अघिदेखि प्रारम्भ भएको अग्रीम बुकिमा पनि सुखद देखिएको छ ।
व्यापक प्रचार प्रसारपछि आजदेखि प्रदर्शनमा आएका यी दुई फिल्महरुले यो फेस्टिभ विकेण्डलाई कत्तिको सदुपयोग गर्न सक्छन् भन्ने कुरा मुख्य चुनौतीको विषय बनेको छ । किनभने आज शुक्रवार प्रदर्शनको पहिलो दिन अग्रीम बुकि तथा फस्ट डेका कारण पनि दुबै फिल्मले दर्शक पाउने कुरामा दुईमत छैन । यसबाहेक यी दुबै फिल्मले भोलि साउन २५ गते परेको जनै पूर्णिमा तथा रक्षा बन्धन तथा साउन २६ गते परेको गाईजात्राको विदालाई पनि सदुपयोग गर्न सक्छन् ।
शुक्रवार, शनिवार तथा आइतवार यी तीन दिन दुबै फिल्मले धेरैभन्दा धेरै दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्न सके भने सोमवारदेखि दर्शक स्वतः सिनेमा हलसम्म पुग्ने छन् । यद्यपि, त्यसका लागि माउथ अफ वर्डले पनि ठूलो भूमिका निर्वाह गर्न सक्छ । अर्थात जुन फिल्मले मौलिक तथा उत्कृष्ट माउथ अफ वर्ड पाउँछ, त्यही फिल्म व्यवसायिक सफलताको यात्रामा अघि बढ्ने छ । ‘मोहर’ मा दर्शकका प्रिय अभिनेता पल शाह मुख्य भूमिकामा छन् । उनलाई बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही आदि कलाकारको साथ छ । यो फिल्मले पश्चिम नेपालमा केही वर्ष अघिसम्म विद्यमान देउकी प्रथाको विषयलाई उठान गरेको छ । निर्देशक ओम प्रतिकले लामो समयको रिसर्च अर्थात गहन अध्ययनपछि यो फिल्म निर्माण गर्ने निर्णय गरेका हुन् । यो फिल्मका पोष्टर, टीजर, ट्रेलर तथा गीत संगीत दर्शकको रोजाइमा परिसकेका छन् ।
अर्कोतिर, ‘सिटामोल’ ले पनि पश्चिम नेपालकै जीवनशैलीलाई मुख्य विषयवस्तु बनाएको छ । यसले जनयुद्धपछि जनयुद्धमा होमिएका योद्धाहरुको वास्तविक अवस्थालाई चित्रण गर्दै पश्चिम नेपालका पहाडी भूभागको जनजीवन, जीवन शैली, गरीवी, अभाव जस्ता विषयलाई चित्रण गरेको छ । यो फिल्ममा अभिनेता सौगात मल्ल तथा अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको छ । यो फिल्मका संवादहरु दर्शकमाझ अत्यन्त लोकप्रिय छन् । फिल्मको टीजर तथा ट्रेलरमात्र होइन गीत पनि उत्तिकै रुचाइएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशन र फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बन जंग शाहीद्वारा निर्माण गरिएको फिल्म ‘मोहर’ मा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
राज बहादुर साने निर्देशित ‘सिटामोल’ सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् । तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्वज तथा निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।