आगामी भदौ २० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रिमै’ को निर्माण टिम यतिबेला प्रचारमा लागेको छ । ३१ औं विश्व आदिवासी दिवसमा काठमाडौँमा आयोजित विभिन्न ठाउँको र्यालीमा ‘रिमै’ टिमले सहभागिता जनाए । जसमा चलचित्रका सम्पूर्ण टिम आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित उपस्थित भएका थिए । चलचित्र टिमसहित आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा ब्यानर, प्लेकार्ड र फिल्मको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै रमाए ।
‘रिमै’ टिमले आदिवासी दिवसलाई उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकको रूपमा लिएको बताए । निर्देशक खिलबहादुर गुरुङले चलचित्रमा पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सहभागिताले कलाकार तथा फिल्मकर्मी पनि सामाजिक तथा सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको टिमको दाबी छ ।
चलचित्रको कथा उपेन्द्र सुब्बाले लेख्नुभएको हो । शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ ।
वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्मातामा हुनुहुन्छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स्को प्रस्तुति रहेको चलचित्र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।