नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रकाश सपुत तथा समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ को भिडियो सोमवार दिउँसो सार्वजनिक भएको हो । यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत सुन्न सकिन्छ भने श्याम स्वेत रसाईलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ । गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीतमार्फत गराएका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत तथा स्वस्तिमा खड्का फिचर्ड छन् ।
रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम देख्न सकिन्छ । गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । यसअघि सार्वजनिक फिल्मका पोष्टरले दर्शकको ध्यान खिचिरहेको छ । गीतले दर्शकको मन जित्ने देखिन्छ ।
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म यही वर्षको बडादशैँको फूलपाती (असोज १३) का दिनदेखि प्रदर्शनमा आउँदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।