फिल्म ‘ताराहरू’को बुधबारदेखि टिकट बुकिङ खुलेको छ । देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमालगायतले फिल्मलाई सो दिएको छ ।
क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यकाबाहिर ४ गरी जम्मा ७ सो दिएको छ । त्यस्तै आइएनआइ सिनेमाज, वान सिनेमाजमा पनि टिकट खुलाइएको छ । बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाजलगायत हलले टिकट खुलाउन बाँकी छ ।
फिल्म ‘ताराहरू’ मध्यम वर्गीय परिवारको संघर्षको कथामा बनेको छ । फिल्मका निर्देशक आशान्त शर्मा हुन् । उनी स्वयंको मुख्य भूमिका रहेको फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।
फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर र ट्रेलरलाई दर्शकले रुचाएका छन् । निर्देशक शर्माकै कथा रहेको फिल्म वेज प्रालिको प्रस्तुतिमा बनेको छ । फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् । सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन् ।
शरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ । फिल्म यही शुक्रबार अर्थात् भदौ ६ देखि हलमा लाग्दैछ ।