आउँदो तिहारको अवसर पारेर असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमपश्चात् सार्वजनिक गरिएको टिजरले चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको सङ्केत दिएको छ । टिजरमा मुख्य तीन पात्रबिचको प्रेम, मित्रता र सङ्घर्षलाई जोड दिइएको छ ।
लगभग २ मिनेट लामो टिजरको सुरुवातमै सगरमाथाको भव्य दृश्य देखाइएको छ । जहाँ कलाकार शिशिर बाङ्देलको प्रभावशाली आवाजमा सुनिन्छ, ‘सगरमाथा चोमोलुङ यानिकी माउन्ट एभरेस्ट। हेर्दा जति सुन्दर, त्यति नै क्रूर । त्यहाँ एक गलत कदम, एन इस्ट एभर रेस्ट ।’ यसै भ्वाइस ओभरको पृष्ठभूमिमा सगरमाथा आरोहणका क्रममा पात्रहरूले भोगेका चुनौती र कठिनाइहरू देखाइएको छ ।
टिजरले सगरमाथाको पृष्ठभूमिबाट दर्शकलाई चलचित्रका मुख्य पात्रहरू अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ बिचको सम्बन्धमा आउने उतारचढावमा प्रवेश गराउँछ । टिजरको अन्त्यमा भने फेरि सगरमाथाको दृश्य दोहोरिन्छ, जहाँ अनमोल र जसिता हिउँको वर्षाबिच थकित अवस्थामा सुतिरहेको देखिन्छन् ।
‘फर्की फर्की’ फेम्ड निर्देशक सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रमा अनमोल, आँचल र जसिताका अलावा भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), सुरक्षा पन्त र उषा खड्की लगायतका कलाकारको पनि अभिनय रहेको छ । अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले यसको निर्माण गरेका हुन् । न्यौपानेले यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लूज’ जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।
यस चलचित्रको निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साथ दिएका छन् भने अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको सङ्गीत रहेको छ । यसको कथा हेमराज बिसीको हो भने पटकथा विश्वास तिम्सिनाले तयार पारेका हुन् र छायाङ्कन दुलिप रेग्मीले गरेका छन् ।