यसअघि ‘रङ्गेली’ चलचित्र निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन् । सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ ।
चलचित्रको सार 'हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ' भन्ने रहेको निर्देशक सुवेदीले बताए । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ ।
यसको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन् । चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ । चलचित्र निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
चलचित्रको प्रस्तुत कर्तामा रेजिना बिस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन् ।
यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बनेका भएता पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ। घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ । पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्बिरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ ।