रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द, स्वर्गीय जयदेवको सङ्गीत छ ।
गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो । असोज १३ गते दसैँको फूलपातीबाट यो फिल्म रिलिजमा आउँदै छ ।
गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायाङ्कन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । भिडियोको कोरियोग्राफी लोभलाग्दो छ । लोकेसन र छायाङ्कनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेसन छनोट गरिएको छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको लेखन छ ।
यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्मले दर्शकको माया पाउने विश्वास गरिएको छ ।
यो गीतको भिडियो प्रतियोगिताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन् ।