भरिभराउ हलभित्र ‘नेपथ्य’ ब्याण्डको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो । ‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरुङ अथ्र्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा पनि हाम्रा निम्ति यहाँ बस्नेहरूमा देखिएका खुसीका यी आँसु र हाँसोको मूल्य नै बढी छ ।’
कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत ‘आँगनैभरि’ देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको ‘कर्नालीका छाइला’ सम्ममा दर्शक उत्तिकै रमाएर नाचे । ‘जोगले हुन्छ भेट’ जस्ता कतिपय गीतमा सुरुदेखि अन्त्यसम्म सिङ्गो दर्शक जमातले साथमा साथ मिलाएर गाएको थियो ।
किबोर्डको धुन बज्नेबित्तिकै अब ‘यो जिन्दगानी’ गाइँदै छ भन्ने भेउ दर्शकले पाइसकेका थिए । यो गीत प्रस्तुत गर्ने क्रममा अमृतले स्वदेशमा पढ्ने अवसर नपाएका केटाकेटीका निम्ति सक्दो योगदान गर्न युरोपका मनकारी दर्शकलाई अनुरोध पनि गरे । दर्शक घेरामै बेल्जियमको राजधानी ब्रसेल्सदेखि आएका दावा शेर्पा पनि थिए ।
अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि नेपालका पर्यटकीय स्थलका महत्वको बयान गर्दै बिदामा घर गएको बेला पदयात्रा गर्न दर्शकलाई आह्वान पनि गरेका थिए । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
पोर्चुगलको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अर्को मुलुक बेल्जियम पुगिसकेको छ । सेप्टेम्बर ३ बुधबार बेलुकी एन्थ्रोपेनस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा अबको प्रस्तुति रहनेछ ।
बेल्जियमको प्रस्तुतिसँगै एक महिनाअघि लन्डनको वेम्बली एरिनाबाट सुरु भएको नेपथ्यको युरोप यात्रा सम्पन्न हुनेछ । युरोपका सबै कन्सर्टमा जस्तै बेल्जियममा पनि दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ ।