भदौ २० गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको रिमै’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ । गीतको सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल–अचल दृश्य समेटिएका छन् ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो फिल्म आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।