नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । बडादशैँको फूलपातिका दिन अर्थात आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउने यो वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको यो फिल्मको ट्रेलर शनिवार सार्वजनिक भएको हो ।
दिपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्मको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक विषयलाई पनि समेटेको छ । यो फिल्ममा लोकप्रिय कलाकरा हरिवंश आचार्य हरिबहादुर पात्रमा प्रस्तुत भएका छन् । नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई फिल्मको ट्रेलरमा समावेश गरिएको छ । योसंगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ ।
यो फिल्ममा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् ।
कृष्ण बहादुर थापाले खिचेको यो फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको यो फिल्ममा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।