गत भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म कोशेढुङ्गाको गीत सार्वजनिक भएको छ । बडादशैँ प्रारम्भ हुनुभन्दा एक दिनअघि यूटुयुबमार्फत फिल्म कोशेढुङ्गाको सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक गरिएको छ । सार्वजनिक यो गीतमा आशिष अविरल तथा सुशीला पाठकको स्वर सुन्न सकिन्छ । ‘कोशेढुङ्गा’ को टीमले दशैँ–तिहारको शुभकामनासहित यो सोरठी गीत प्रस्तुत गरेको जनाएको छ ।
रमेश परियारका शब्दहरुको यो गीतमा संगीतकर्मी अविरलकै संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ । कुशल गौतम यो गीतका रेकर्डिष्ट हुन् । गीतको रिदम सेक्सनमा भुवन गन्धर्व छन् भने बाँसुरीवादन गोपाल देव तथा बास गिटारमा अनुप दास रहेका छन् । यो गीत रागा स्टुडियोमा रेकर्ड गरिएको हो ।
यो गीतमा झिलिमिली बत्तीसहितको पृष्ठभूमिमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री सुरक्षा पन्त, नीति शाह, मञ्जिल कुमार आदि कलाकारहरुले कोरस कलाकारहरुसंग परम्परागत पहिरन लगाएर आकर्षक नृत्य प्रस्तुत गरेका छन् । तिहारको माहौल अनुभव गर्न सकिने यो गीत सुन्दा जति कर्णप्रिय छ, भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।
सुमन सागर जंग केसीले यो गीतमा कोरियोग्राफी गरेका छन् । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो फिल्ममा भने आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, मञ्जिल कुमार, सरोज खनाल आदि कलाकारले अभिनय गरेका छन् ।