नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र 'बलिदान'का निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन् । उनले यस चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन् ।
"हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो । लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो," निर्देशक सेनले बताए, "चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ । हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन् । साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ ।"
सेनले 'बलिदान'को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, "हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ । यी दुवै नै हाम्रो जीवनका आधार हुन् । यही आधारलाई चलचित्रमा समेटिएको छ । चलचित्र हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन् ।"
गत शुक्रवार सार्वजनिक गरिएको 'बलिदान'को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा व्यापक चर्चा ल्याएको छ । यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको चलचित्रले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ । ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित दमदार संवाद प्रस्तुत गरेका छन् । सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्च स्तरमा पुर्याएको छ । यसअघि सार्वजनिक भएको शीर्ष गीत 'यो ज्यान बलिदान' अहिले जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ । सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ ।
'आशुसेन फिल्म्स प्रा.लि.'को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने 'बलिदान'लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ । निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन् । उनका अनुसार, 'बलिदान' हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन् ।