वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन् ।
सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ । यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ। यो फरक स्तरको चलचित्र हो । नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो ।” लामाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आफू सधैँ प्रयासरत रहेको बताउँदै ‘बलिदान’ हेर्दा त्यसको सम्भावना अझ स्पष्ट रूपमा महसुस गरेको बताए । उनका अनुसार, “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन् ।”
निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला ।”
समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए। “बिराज बिराज नै हो, समीर समीर नै हो । बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो हो,” लामाले भने ।
यसैबीच, चलचित्रकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू निकै भाव विह्वल भएको बताइन् । उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको बताइन् । “मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुसीको कुरा हो,” ऋचाले भनिन् ।
सन्तोष सेन निर्देशित ‘बलिदान’ बडादसैँको अवसरमा फूलपातीबाट प्रदर्शनमा आएको हो। हाल दोस्रो हप्तामा पनि देशभर करिब १ सय ३० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारेको वितरकहरूले जनाएका छन् ।
अभिनेता समीर भट्टको दमदार एक्सन र अभिनयको प्रशंसा गर्दै दर्शकहरूले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरिरहेका छन् । आमा–छोराबीचको प्रेम र त्यागमा आधारित कथाले दर्शकको हृदय छोएको बताइएको छ ।
आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।