कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र 'सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ । यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ । गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन् ।
‘नौलाख तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन् । गीतको लिरिकल भिडियोमा पनि ती भावनात्मक उतार–चढाव स्पष्ट देखिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको अभिनय रहेको छ ।
यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न रहेको छ । इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको 'सोल्टिनी’ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताए ।