कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ । निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ ।
गायक तथा हास्य कलाकार समेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएर लागेका छन् । उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन् । उनीसँग राई इज किङ गायक राजेश पायल राई,संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ। हिजो बिहिबार धरानमा फिल्मको प्रचारका रुपमा व्यापक कन्सर्टको आयोजना गरिएको थियो । जहाँ हजारौ धरानबासी दर्शकको उपस्थिति रहेको थियो ।
आज आफ्नै गृह जिल्लामा यस फिल्मका निर्देशक विल्सन विक्रम राईको टिमले सांगीतिक प्रस्तुति दिदै छ। असोज २५ गते बिर्तामोडको मुक्ती चोकमा कार्यक्रम हुनेछ । निर्माण पक्षले झापाको बिर्तामोड,दमक,मोरङको बेलबारी,सुनसरीको इटहरी,धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । सोहीक्रममा आज बिर्तामोडमा कार्यक्रम हुन लागेको निर्देशक राईले बताए ।
‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’उनले भने,‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ । यो नौलो तरिका पनि हो ।’
यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर,दुई वटा गीत र टिजरले दर्शकको मन जिति सकेको छ । तर निर्देशक यतिप्रसारमा नपुग्ने भन्दै उनी सांगितिक कार्यक्रममार्फत आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन होमिएका हुन् । उनको यो डेब्यु निर्देशन पनि हो। त्यसैले उनी प्रचारप्रसारमा कुनै कसुर नराख्ने बिचारमा छन् ।
निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई बोल्ने छ । फिल्ममा धिरज मगर,मिरुना मगर,दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ । सौरभ लामाले खिचेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।