सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । कम्पनिको आधिकारिक च्यानलमार्फत सार्वजनिक १ मिनेट १४ सेकेण्ड लामो टिजरमा एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा मुख्य केन्द्रबिन्दु बनेको छ । टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गर्दै दर्शकको चासो बढाएको छ ।
निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै अब ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । यसअघि फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो, जसले नै दर्शकको ध्यान तानेको थियो ।
यस डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुले अभिनय देख्न सकिनेछ । टिजरबाटै ‘मौन’ले अटिजम जस्तो संवेदनशील र प्रायः बेवास्ता गरिने विषयमा गहिरो कथा बोकेको स्पष्ट हुन्छ ।
निर्माता–निर्देशक ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक दायित्वको परियोजना भएको बताए । डकुड्रामाको कथा चर्चित लेखक रामशरण पाठकले लेखेका हुन्।
केही समयअघि नेपालमा भएको जेन्जी आन्दोलनका कारण ‘मौन’को विशेष शो र च्यारिटी प्रदर्शनहरू केही समयका लागि स्थगित गरिएको थियो । निर्देशक ज्ञवालीले राजनीतिक तथा सामाजिक अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रोकिएको र अब आयोजकहरूसँग पुनः सल्लाह–समन्वय गरेर विशेष प्रदर्शन सुरु गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार डकुड्रामाका स्क्रिनिङहरू केवल मनोरञ्जनका लागि होइन, नेपालका स्कुल, कलेज, संस्था तथा समुदायहरूलाई अटिजमबारे सचेत गराउने अभियानको हिस्सा हुनेछ । फिल्मको छायांकन शंकल्प भुजेलले गरेका छन् भने प्रमुख सहायक निर्देशक वसन्त अधिकारी हुन् । सहायक निर्माता हरी क्षेत्री भूपेन्द्र हुन्। ध्वनि डिजाइनिङमा भरत कँडेल, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान, सम्पादन नहकुल खड्काले गरेका हुन् ।
यस फिल्मका निर्माता तथा निर्देशक रामजी ज्ञवाली एक दशक लामो पत्रकारितापछि डकुड्रामा, डकुमेन्ट्री र सर्ट फिल्म मेकिङमा लागेका थिए । उनले आराध्या, एक लभर, हनिमुन, लिलामी, डार्कमुन, लापत्ता सन्तान, रित्तो गाउँ, मौन, निशब्द लगायतका प्रोजेक्ट बनाइसकेका छन् । यद्यपी मौन, निशब्द र रित्तो गाउँ भने च्यारिटी शो, विशेष प्रदर्शन केन्द्रित भन्दै सार्वजनिक नगरी राखेका छन् ।