शुक्रबार देखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हर्ष’ को बुधबार ललितपुरस्थित लबिम मलमा भव्य प्रिमियर शो गरिएको छ । कार्यक्रममा स्वर्गीय निर्देशक शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो ।
शिव रेग्मीकी पत्नी ज्ञानु रेग्मीले भान्जी तथा डेब्यु निर्देशक एकता पौडेललाई बधाई दिँदै भनिन्, “१२ वर्षपछि भान्जीले फिल्म निर्देशनको जिम्मा लिनुभएको छ, निकै खुशी लागेको छ । शिवजीले ‘नेपाली फिल्मका मान्छे आउँदा कहिल्यै नरिसाइनु’ भन्ने गर्नुहुन्थ्यो । आज उहाँको स्मृतिदिवस पनि परेको दिनमा यो फिल्म हेर्न पाउनु आफैंमा विशेष छ ।”
फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछानेले पहिलोपटक फरक शैलीको भूमिकामा अभिनय गर्दा उत्सुकता भए पनि दर्शक तथा पाहुनाबाट पाएको प्रशंसाले आफू ढुक्क भएको बताए ।
डेब्यु निर्देशक एकता पौडेलले बाल्यकालदेखि रहेको निर्देशन–सपना ‘हर्ष’बाट पूरा भएको भाव व्यक्त गरिन् । उनले भनिन्, “पाहुनाले मामाको झल्को दिने शैलीमा फिल्म बनेको भनी प्रशंसा गर्नुभयो । यसले आगामी दिनमा अझ राम्रो सिर्जना गर्ने जिम्मेवारी थपिएको छ। दर्शकले पनि मन पराइदिनुहुन्छ भन्ने अपेक्षा छ ।”
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको ‘हर्ष’को कथा आफैं निर्देशक पौडेलकै हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन् भने कार्यकारी निर्माता हिक्मत चोखाल रहेका छन् । प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
फिल्मको छायांकन आलोक शुक्ला, संगीत समीर–हिमाल, बसन्त सापकोटा र एलिश कार्का, सम्पादन लोकेश बज्राचार्य, कोरियोग्राफी सुनिल क्षेत्री र एकता पौडेलले गरेका छन् ।