कृशन फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक गरिएको छ । यही मंसिर २६ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
काजी लिम्बुले लेखेको कथामा आधारित ‘लोकन्ती’लाई निर्देशक रञ्जित रानाले पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका मुख्य अभिनेता एसराज गराच हुन् । काभ्रे जिल्लाका वास्तविक तथा प्राकृतिक भू-भागमा छायांकन गरिएको चलचित्रले पारिवारिक प्रेमकथासँगै समसामयिक सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ ।
गीतमा अभिनेता कुमार न्यौपाने र अभिनेत्री विमला लिम्बु फिचर्ड छन् । मेलिना राई र नारायण थापाको स्वर रहेको उक्त गीतमा शंकर अधिकारीका शब्द र विकास चौधरीको संगीत समावेश छ । प्रेमिल भावनाले सजिएको गीतले चलचित्रको रोमान्टिक माहोल झल्काउने अपेक्षा गरिएको छ ।
चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । चलचित्रमा एसराजसँग अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री प्रस्तुत गरिनेछ । साथै, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती र गोविन्द प्रभातलगायत कलाकारले अभिनयगरेका छन् । यही चलचित्रमार्फत कुमार न्यौपाने र विकास अधिकारीले अभिनय यात्राको सुरुवात गर्नुभएको छ ।
चलचित्रमा संगीत निर्देशन विकास चौधरीले गरेका छन् । छायांकन रोनिश तामाङ च्याङ्बाले, शृंगार अशोक रोक्काले र सम्पादन गौतमराज खड्काले गरेको हो । चलचित्रमा शंकर अधिकारी, डा.ओमकृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीका गीतहरू समावेश छन् ।