फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्वजनिक भएको छ । यहि मंसिर २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मको २ मिनेट ३० सेकेन्डको ट्रेलरमा कमेडी तथा पारिवारिक कथालाई उठाउन खोजिएको छ । ट्रेलरमा नेपाली परिवारमा देखिने उतार–चढाव, जीवनका संघर्ष, प्रेम–घृणा तथा हास्य–व्यङ्ग्यलाई समेटिएको छ । यो फिल्म कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
काजी लिम्बुद्वारा लिखित फिल्ममा रञ्जित रानाको निर्देशन छ । फिल्ममा एसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायतको अभिनय रहेको छ ।
काभ्रे जिल्लाका विभिन्न रमणीय लोकेशनमा छायांकन गरिएको यो फिल्ममार्फत कुमार न्यौपाने तथा विकास अधिकारीले डेब्यू गर्दैछन् । निर्माण पक्षले यो फिल्मलाई ड्रामा, कमेडी, इमोसनलगायत मनोरञ्जनका सबै पाटो समेटिएको फिल्मका रूपमा व्याख्या गरेको छ ।
भावनात्मक तथा सामाजिक कथानक यो फिल्म नेपाली संस्कृतिमा आधारित मनोरञ्जनले भरिपूर्ण बनेको बताइन्छ । ‘लोकन्ती’ ले नेपाली फिल्म उद्योगमा फरक स्वाद ल्याउने अपेक्षा गरिएको छ । सन्तोष न्यौपानेद्वारा निर्मित यो फिल्ममा परिवार, संघर्ष, प्रेम, शान्ति र द्वन्दको कथा समेटिएको छ । फिल्मलाई निर्माण पक्षले पूर्ण पारिवारिक ड्रामाका रूपमा प्रस्तुत गरेको जनाएको छ ।