गायक सञ्जय श्रेष्ठ आफ्नो नयाँ यूगल पप गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । योःमरी पून्हीको अवसर पारेर गायक श्रेष्ठले आफ्नै यूट्युब च्यानलमार्फत ‘गाडी त जर्मनको बाटो चाइनाको’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गायक सञ्जय श्रेष्ठले पुरानो गीतलाई रि–क्रिएट गरेका हुन् । त्यसका लागि उनले यो गीतका वास्तविक सर्जक सुनिल पराजुली, कपिल लोहनी, सुनिता सुब्बा तथा रिता राईलाई धन्यवाद ज्ञापन गरेका छन् । गीतका शब्दहरु कपिल लोहनीले तयार पारेका हुन् । यो गीतको संकलन तथा एरेञ्जमेन्ट किशोर गुरुङले गरेका हुन् ।
यो कर्णप्रिय गीतमा गायक सञ्जय श्रेष्ठलाई गायिका शर्मिला वर्देवाले गायनमा साथ दिएकी छिन् । यो गीतलाई गायक श्रेष्ठ तथा संगीतकर्मी भूपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन् । गायक श्रेष्ठले नै यो गीतलाई मिक्सिङ गरेका हुन् । गीतमा मिलन घिमिरेको बाँसुरी वादन सुन्न सकिन्छ भने अभिनाष अस्थानाले गिटार वादन गरेका छन् । पारस सुवेदीले मादल बादन गरेका छन् ।
यो गीतमा गायक सञ्जय श्रेष्ठको सांगीतिक समुह क्रस रोड पनि आवद्ध छ । क्रसरोडमा पूनम सापकोटा ड्रममा, अभिनाष अस्थाना गिटारमा, सलिल तामाङ बासमा, विवेक परियार किबोर्डमा तथा सञ्जय श्रेष्ठ भोकलमा रहेका छन् ।
यो म्युजिक भिडियोको निर्देशन अमृत सुनुवारले गरेका हुन् । भिडियोमा प्रयोग गरिएको जर्मनमा बनेको पुरानो शैलीका कारले भिडियोलाई थप आकर्षक बनाएको छ ।
भिडियोमा गायक सञ्जय श्रेष्ठ आफैँ फिचर भएका छन् भने उनलाई मोडल बबिशा भण्डारीले साथ दिएकी छिन् । हृ्रतिक सिंह ठकुरीद्वारा छायांकन गरिएको भिडियोमा अमृत सुनुवालको डिओपी छ । मनोरञ्जन श्रेष्ठले यो भिडियो सम्पादन तथा कलरिङ गरेका छन् ।