अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा नेपाली फिल्म ‘एक्लो’ प्रिमियर हुने भएको छ । फिल्मको प्रिमियर डिसेम्बर २८ मा हुने र निर्देशक प्रदीप शाहीसहित कलाकारहरू अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले सहभागिता जनाउनेछिन् ।
हलिउडका केही विशिष्ट फिल्महरू र विश्वप्रसिद्ध कलाकारहरूको फिल्म मात्र प्रिमियर हुने यस स्थानमा फिल्म ‘एक्लो’ले सो अवसर पाएको हो । साइन्स–फिक्सनमा आधारित ‘एक्लो’ सार्वजनिक प्रदर्शन पुस १७ गतेदेखि नेपालसहित विश्वका केही देशमा हुँदैछ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ । साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्त्वपूर्ण भूमिकामा फिल्ममा देख्न सकिन्छ ।