नेपाली चलचित्र ‘ऊनको स्वीटर’भारतका विभिन्न सहरहरूमा पनि तीव्र गतिमा विस्तार हुँदै गएको छ । नेपालमा ५१ दिनसम्म ४० भन्दा बढी हलमा निरन्तर चल्दै करिब १२ करोड रुपैयाँ आम्दानी गरेको यो चलचित्र अहिले भारतका प्रमुख सहरहरूमा दर्शकको मागसँगै सफलतापूर्वक प्रदर्शन भइरहेको र थुप्रै सहरहरूमा रिलिजको क्रममा रहेको निर्माण पक्षले जनाएको छ । निर्माण कम्पनी आर्टमान्डू नेपाल प्रा.लि.ले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वोत्तर भारतमा सफलतासँगै दक्षिण भारतसम्म पुगेको जनाएको छ ।
पूर्वोत्तर भारतमा प्राप्त सफलता पछि ‘ऊनको स्वीटर’ अब असामको गुवाहाटी, वेस्ट बङ्गालको कोलकाता, उत्तराखण्डको देहरादून, नयाँ दिल्ली, बैंगलोर र हैदरावादसम्म विस्तार भएको छ । विशेष गरी बैंगलोरमा नेपाली भाषी जनसङ्ख्या न्यून रहे पनि चार प्रमुख हलहरूमा चलचित्र हाउसफुल चलिरहेको निर्माता टिमले उल्लेख गरेको छ । दक्षिण भारतमा समेत पाएको साथ नेपाली चलचित्रका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
नवीन चौहान निर्देशित तथा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय रहेको यो चलचित्रको भारत यात्रा दुई हप्ता अघि सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोसँग सुरु भएको थियो । प्रारम्भिक दुई शो हाउसफुल भएपछि गान्तोकमा प्रदर्शन सङ्ख्या ६ सम्म पुगेको थियो । सो उत्साहजनक प्रतिक्रियाले नाम्ची, कर्स्याङ, दार्जिलिङ, कालिम्पोङ, कोलकाता र सिलिगुडीका हलहरूमा समेत दर्शकको भीड बढ्दै गएको र यी हलहरूले अझै पनि शो निरन्तरता दिएको बताइएको छ ।
निर्देशक नवीन चौहानले गान्तोकबाट सुरु भएको यात्रा दक्षिण भारतसम्म पुग्नु आफूहरूले कल्पना गरेकोभन्दा ठुलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । नेपाली भाषाबाहेकका दर्शकबाट समेत चलचित्रप्रतिको रुचि बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यसले नेपाली चलचित्रलाई नयाँ बजार र अन्तर्राष्ट्रिय उपस्थितिको ढोका खोलिदिएको विश्वास व्यक्त गरे ।
आर्टमान्डू नेपाल प्रा.लि.ले भारत तथा नेपालभरका दर्शक र साझेदारहरूलाई धन्यवाद प्रदान गर्दै ‘ऊनको स्वीटर’को सफल अन्तर्राष्ट्रिय यात्राप्रति आशावादी दृष्टिकोण व्यक्त गरेको छ। भारतमा 'ऊनको स्वीटर'लाई एसली प्रोडक्सन र एवन राईको समूहले रिलिज गरेको हो । भारत प्रदर्शनको लागि निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि भारतमा रहेका छन् ।
निर्माण संस्थाले डिसेम्बर १२ देखि चलचित्र थप दर्जनौँ भारतीय सहरमा प्रदर्शन विस्तार गर्ने घोषणा गरेको छ। सो मितिदेखि मुम्बई, हैदरावाद, हिमाञ्चलका सिमला, धर्मशाला, कुल्लु, अरुणान्चल प्रदेशका तेजू रनामसाई, मेघालयको सिलोङ तथा असामका अन्य महत्त्वपूर्ण सहरहरूमा पनि चलचित्र आधिकारिक रूपमा रिलिज हुँदैछ ।