नेपाली चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ । यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ ।
छायाङ्कन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमवार काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन भइरहेको छ भने मङ्गलवार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ । निर्माण टिमका अनुसार यो गीतपछि अर्को एक गीतको छायाङ्कन बाँकी छ, जसपछि चलचित्रको सम्पूर्ण छायाङ्कन पूर्ण हुनेछ ।
एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन् । गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा रहेका छन् । यसको कोरियोग्राफी रोशन बिकेले गरेका छन् ।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन् । साथै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि उपस्थिति रहेको छ ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् । निर्देशक प्रकु पाण्डेयले चलचित्र निर्देशन गरिरहेका छन्, कथा पनि उनकै लेखन हो । पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन् ।