लोकप्रिय ब्याण्ड ‘मंगोलियन हार्ट’ बेलायतमा गुञ्जिने भएको छ । बहुचर्चित ब्याण्डले नेपाली डायस्पोरामा १३ डिसेम्बरमा पहिलोपटक लाइभ प्रस्तुति दिन लागेको हो । यसका लागि ब्याण्ड बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । लन्डनस्थित ह्यारो सेन्टरमा ब्याण्डले प्रस्तुति दिने प्रेषित विवरणमा उल्लेख छ । कन्सर्ट आयोजना जीटी बेस इन्टरटेन्मेन्टले गरेको हो ।
३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डले लोक, स्लो रक, पप मेलोडीलगायतका जनरामा गीत गाएको छ । ब्यान्डमा राजु लामा मुख्य गायक, रिदम गिटारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गीटाररमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
कन्सर्ट ब्याण्डले आफ्ना हिट गीतमा दर्शक नचाउनेछ । पर्खाइमा, बादलपारिको देशबाट, गाजलु टीका, सुम्निमा, म माया लाउँदिन, तिमीलाई देखेर, सायद तिम्रो बाटोमा लगायत दर्जनौँ हिट गीत ब्याण्डका छन् ।
ब्यान्ड ब्यवस्थापक तथा गिटारिस्ट बबी लामाले कार्यक्रमको सबै तयारी पूरा भएको बताए । ‘हामी सबै तयार छौं र युकेका दर्शकलाई लाइभ प्रस्तुतिसँग जोड्न पाउँदा लालायित पनि छौँ,’ उनले भने ।