फ्राइडे रिलिज अन्तर्गत दुई नयाँ नेपाली फिल्महरु ‘पीआर’ तथा ‘लोकन्ती’ प्रदर्शनमा आएका छन् । प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ का प्रस्तुतकर्ता रञ्जित साह तथा सन्तोष तिवारी हुन् । फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । निर्माण पक्षका अनुसार चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के।सी । र दिक्पाल कार्की देखिनेछन् ।
फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ । छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् । वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।
यसैबीच, आजदेखि नै प्रदर्शनमा आउने अर्को फिल्म हो ‘लोकन्ती’, जसलाई कृशन फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । नेपाली परिवारमा देखिने उतार–चढाव, जीवनका संघर्ष, प्रेम–घृणा तथा हास्य–व्यङ्ग्यलाई समेटिएको यो फिल्मको निर्देशन रञ्जित रानाले गरेका हुन् ।
भावनात्मक तथा सामाजिक कथानक यो फिल्म नेपाली संस्कृतिमा आधारित मनोरञ्जनले भरिपूर्ण बनेको बताइन्छ । ‘लोकन्ती’ ले नेपाली फिल्म उद्योगमा फरक स्वाद ल्याउने अपेक्षा गरिएको छ । सन्तोष न्यौपानेद्वारा निर्मित यो फिल्ममा परिवार, संघर्ष, प्रेम, शान्ति र द्वन्दको कथा समेटिएको छ । फिल्मलाई निर्माण पक्षले पूर्ण पारिवारिक ड्रामाका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
नेपाली समाजको यथार्थ चित्रणसहित सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने उद्देश्यले फिल्म तयार गरिएको निर्माण संस्थाको भनाइ छ । काभ्रे जिल्लाका विभिन्न रमणीय लोकेशनमा छायांकन गरिएको यो फिल्ममार्फत कुमार न्यौपाने तथा विकास अधिकारीले डेब्यू गर्दैछन् । निर्माण पक्षले यो फिल्मलाई ड्रामा, कमेडी, इमोसनलगायत मनोरञ्जनका सबै पाटो समेटिएको फिल्मका रूपमा व्याख्या गरेको छ ।
काजी लिम्बुद्वारा लिखित फिल्ममा एसराज गराच (सुरज कार्की), ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायतको अभिनय छ ।
यो फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङबाको छायांकन, अशोक रोक्काको श्रृंगार र गौतमराज खड्काको सम्पादन छ । फिल्ममा शंकर अधिकारी, डा.ओम कृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ ।