नेपाली फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाही संगै चलचित्रका सम्पूर्ण मुख्य पात्रहरुको उपस्थिति रहेको थियो । लाविममल ललितपुरमा एक बिशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए ।
कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगाएतको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तताको समयमा पनि टिम र चलचित्रको बिषयबस्तु मन परेर काम गरेको बताए। निर्देशक शाहीले टेक्निकल र अन्तररास्ट्रीय रुपमा नेपाललाइ चिनाउने गजबको सिनेमा 'एक्लो' बनाएको भन्दै प्रशंशा समेत गरे ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ । साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ ।
साइन्स–फिक्सनमा आधारित ‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ। विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’ ले विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो । कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गरेको थियो ।
यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन् ।