माघ ९ गते बाट प्रदर्शन हुने फिल्म ‘बिगुल’को टिजर सार्वजनिक गरिएको छ । सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ ।
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति,परिवार,समाज,सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ ।
जेन्जी आन्दोलनप्रति समर्पित गरिएको ‘बिगुल’ मा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।
फिल्मबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर,समाज,देशमा के कस्ता घटना,राजनीति भइरहेको छ, त्यसबारेमा समेत जानकारी दिने बिश्वास निर्देशक कोइरालाको छ । ‘फिल्मलाई मनोरञ्जनका साथमा बिचारका रुपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’,‘लीला’ र ‘नीरमाया’ फिल्म निर्देशन गरेका सिनीयर निर्देशक कोइराला भन्छन्,‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ ।’
म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन ।
कथाकार,निर्माता कोइरालाले ‘बिगुल’ मा आफूहरुले उठाएको मुख्य मुद्धा र अहिले जेन्जी पुस्ताले राखेको माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको बताउँदै आएका छन् ।