इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स (INFFA) ले आफ्नो पहिलो फिल्म महोत्सव तथा अवार्ड्स कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ ।
महोत्सव अन्तर्गतको प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू आह्वान गरिएको छ । फिल्महरू बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ रहेको छ ।
महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली फिल्मको प्रवर्द्धन गर्नुका साथै सहकार्य र व्यवसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु रहेको आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेस्टिभलमा प्रमुख जुरिका रुपमा अभिनेता कृष्ण मल्ल रहेका छन् भने जुरि सदस्यहरुमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री विपना थापा र भारतका थिएटर एक्टर अभतार शाहनी रहेका छन् ।
कार्यक्रमका प्रमुख आकर्षणहरूमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा सम्मान प्रदान गरिने रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी, समीक्षकहरूको सहभागिता, प्रीमियर शो तथा विशेष प्रदर्शनहरू र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।
इन्फाका अध्यक्ष राजेन्द्र घिमिरे भन्छन्– ‘इन्फा दिल्ली २०२६ हाम्रो चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ । यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुऱ्याउने हाम्रो दृढ संकल्प छ ।’
सहभागी हुने फिल्म https://filmfreeway.com/INFFA मा अपलोड गर्न अथवा नेपालस्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यलयमा उपलब्ध गराउन वा इमेल [email protected] मा गुगल ड्राइभ गरेर पठाउन सकिने छ ।
यस कार्यक्रमले हजारौं दर्शक र फिल्मकर्मीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीचको सहकार्यका लागि एक महत्वपूर्ण मञ्च प्रदान गर्ने आयोजक संस्थाको बुझाइ छ ।