आज पुस ४ गते शुक्रवारदेखि नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ देशव्यापी प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे ‘पाँडे’ द्वारा निर्देशित यो फिल्म निर्माणको क्रमदेखि नै दर्शकको प्रतिक्षाको सूचिमा रहेको छ ।
फिल्ममा पुराना स्थापित, अग्रज कलाकारका साथै नयाँ पुस्ताका कलाकारको अभिनयले यसलाई थप सशक्त बनाएको निर्माण पक्षको भनाइ छ । यो फिल्मलाई काठमाडौं महानगरका मेयर बालेनको समेत साथ रहेकाले पनि यो दर्शकको प्रतिक्षाको सूचिमा रहेको फिल्म हो ।
यही फिल्मबाट दुई नयाँ अनुहारहरु विमोचन दवाडी तथा जेसिका पोखरेलले डेब्यू गर्दैछन् । फिल्ममा बाल कलाकारमा दिप्सन चिलवालले अभिनय गरेका छन् ।
निर्देशक घिमिरेकै कथामा बनेको यो फिल्मको पटकथा तथा संवाद लेखन भने गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । फिल्मका छायांकार बुद्ध थापा हुन् । यो फिल्ममा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा तथा राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो फिल्ममार्फत अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । अमेरिकामा बसोबास गर्दै आइरहेका कलाकार उप्रेती यही फिल्मका लागि स्वदेश फर्किएका थिए ।
यो फिल्ममा उप्रेतीसंगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ‘पाँडे’, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली आदि कलाकारको मुख्य भूमिका रहेको छ ।
यो फिल्मको अर्को शसक्त पक्ष भनेको फिल्मको गीतमा मेयर बालेनको सहकार्य छ । उनकै शब्द, संगीत तथा स्वरमा बनेको फिल्मको ओएसटीलाई दर्शकले मन पराइसकेका छन् ।