६ वटा नेपाली फिल्मको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक भएको छ । यस विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको हो ।
सोमबार सार्वजनिक पछिल्लो शनिबारसम्मको सिनेपाः बक्सअफिस विवरणअनुसार फिल्म 'परान' को कमाइ १७ करोड ६१ लाख ५ हजार २८८ रूपैयाँ पुगेको छ । कात्तिक १४ गते रिलिज फिल्मले ५१ औं दिनसम्ममा उक्त कमाइ गरेको हो । दीपक आचार्य निर्देशित फिल्मको ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अन्य पाँच नेपाली फिल्म भने बक्स अफिसमा कमजोर देखिएका छन् ।
विवरणअनुसार एकता पौडेल निर्देशित फिल्म 'हर्ष' ले २८ लाख ७८ हजार ५३६ रूपैयाँ ग्रस कमाएको छ । मंसिर १२ गते रिलिज यो फिल्मको ८ हजार ८६६ वटा टिकट बिक्री भएका छन् ।
सुशान्त गौतम निर्देशित 'अभिमन्युः च्याप्टर १' को कमाइ २१ लाख ४८ हजार ७०२ छ। यो फिल्मको ६ हजार ८५० वटा टिकट बिक्री भएका छन् । फिल्म मंसिर १८ गते रिलिज भएको थियो।
त्यस्तै, शोभित बस्नेत निर्देशित 'पीआर' फिल्मले पुस ५ गतेसम्म ६ लाख ६८ हजार ६३३ रूपैयाँ मात्र कमाइ गरेको छ। फिल्मको २ हजार १०९ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
मंसिर २६ मा रिलिज अर्को 'लोकन्ती' को कमाइ अझ न्यून छ। रञ्जित रानाको निर्देशनमा बनेको फिल्मले ४ लाख १ हजार ३४० रूपैयाँ मात्र कमाएको छ। फिल्मको १ हजार ३५७ वटा टिकट बिक्री भएका छन् ।
'पीआर' र 'लोकन्ती' सँगै रिलिज अर्को फिल्म 'चिराग' ले भने बक्स अफिसमा १ लाख रूपैयाँ पनि कमाउन सकेन । यो फिल्मको कमाइ ६८ हजार ४५० रूपैयाँ मात्र छ ।