चलचित्र विकास बोर्डको सहकार्यमा आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन २०८२ पुस १२ गते शनिबार काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डले चालु वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उनले गत वर्ष १४ वटा मातृभाषी समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरिएको स्मरण गर्दै यस वर्ष १५ वटा मातृभाषी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताए। मातृभाषामा निर्माण हुने चलचित्रले नेपाली चलचित्र क्षेत्रको विविधता, मौलिकता र पहिचानलाई थप सुदृढ बनाउने उनको भनाइ थियो ।
तत्कालीन अध्यक्ष रेशम कुमार श्याउली तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा चलचित्र विकास बोर्डको सहयोगमा आयोजना गरिएको हो । कार्यक्रममा लिसंखु पाखर गाउँपालिका प्रमुख राजु लामा, गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा, आदिवासी जनजाति चलचित्र महासंघ संघीय समितिका प्रमुख सल्लाहकार अमृत सुनुवार, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा विशेष अतिथिका रूपमा रोशी गाउँपालिकाका पूर्व प्रमुख डि.वि. मोक्तान उपस्थित थिए ।
यस्तै कार्यक्रममा मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष विकास आले मगर (विश्वास), गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष राजेश गुरुङ, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष नन्दा घर्ती मगर, मगरात नेपाल टेलिभिजनका अध्यक्ष युकेश मगरलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, चलचित्रकर्मी तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अधिवेशनका क्रममा तामाङ चलचित्र “तामाङला कोला” तथा तामाङ लघु चलचित्र “हृदयमा पिवा”को विशेष प्रदर्शन गरिएको थियो । चलचित्र अवलोकन गर्न कलाकार, चलचित्रकर्मी तथा कला–प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भुपेन्द्र ब. रिखाम मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
हालसम्म १३ जना निर्वाचित भइसकेका छन् भने दुई जनाको सिफारिस प्राप्त भइसकेको र अन्य सिफारिस आउने क्रम जारी रहेको महासंघले जनाएको छ । कार्यक्रममा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष रेशम कुमार श्याउली तामाङप्रति धन्यवाद व्यक्त गरिएको छ । साथै, नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष भुपेन्द्र ब. रिखाम मगरले सबै पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो भूमिकाबाट संस्थाको जिम्मेवारी पूरा गर्दै आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, संरक्षण र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।