धनुषाको लालगढस्थित गौतम होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । नयाँ वर्षको साँझलाई अविस्मरणीय बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवमा सुप्रसिद्ध गायक प्रमोद खरेल तथा उहाँको लोकप्रिय ब्याण्ड ‘परम्परा’ ले प्रत्यक्ष (Live) सांगीतिक प्रस्तुति दिनेछन् । स्वर, शब्द र लयको संगमसँगै नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध प्रस्तुतीहरूले महोत्सवलाई अझ जीवन्त बनाउने आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागिताका लागि होटलले तीन तहको टिकट व्यवस्था गरेको छ । पहिलो तहको टिकट रुपैयाँ ५,०००, दोस्रो तहको रुपैयाँ ३,५०० र तेस्रो तहको रुपैयाँ २,५०० तोकिएको छ । उक्त टिकटमा कार्यक्रम अवलोकनसँगै तोकिएको प्याकेजअनुसार खाना, स्न्याक्स तथा ड्रिङ्क्सको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस महोत्सवले स्थानीय होटल, व्यवसाय र आतिथ्य क्षेत्रलाई नयाँ गति दिने विश्वास गरिएको छ । संगीत र संस्कृतिसँगै स्वादलाई पनि उत्सवको केन्द्रमा राख्दै मधेस प्रदेशको पहिचान बोकेका परम्परागत तथा स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछन् ।
निजी क्षेत्रको अग्रसरतामा आयोजना हुन लागेको यस कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्लासँगै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगरलगायत क्षेत्रबाट उल्लेख्य संख्यामा आगन्तुक आउने अपेक्षा गरिएको छ ।
गौतम होटलका सञ्चालक हिरा गौतमका अनुसार, ‘कलैयाको सेकुवा, रौतहटको कटिया, जनकपुरको ललन माछा, बरमझिया (सप्तरी) को पेडा, धनुषाको कठाल दही तथा विभिन्न स्थानका चर्चित मिष्ठान्न परिकारमार्फत अतिथिलाई मधेसको मौलिक स्वाद र सुगन्ध सम्झनलायक बनाउने हाम्रो प्रयास हो ।’
विशेष फुड स्टलमार्फत आगन्तुकहरूलाई मधेसको मौलिक संस्कृति र स्वादसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य राखिएको छ । संगीत, संस्कृति र स्वादको त्रिवेणीसँगै नयाँ वर्षलाई स्वागत गर्ने यस महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।