गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा संगीतकार आभासको सिर्जनात्मक पलेंटी सम्पन्न भएको छ । आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेंटीलाई 'संगत र सहकार्य' शीर्षक दिइएको थियो । कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए ।
कार्यक्रमलाई आभास आफैंले 'न्यारेट' गर्दै गीति रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात उनले पहिलो पटक स्टेजमा गाएको एकल गीत 'भुइँ कुहिरो उड्न थाल्यो' बाट भएको थियो ।
यसपालिको पलेँटीमा आभासले आफूले धुन भरेका पाँचवटा बिल्कुल नयाँ सिर्जनाहरू रहेको जानकारी गराएका थिए । नयाँ गीत सुनाउने क्रममा आभासले सबैभन्दा पहिले कुमार नगरकोटीको शब्द रचनामा 'कहिले घाम कहिले पानी, जिन्दगानी, कहिले धुवाँ कहिले खरानी, जिन्दगानी' प्रस्तुत गरेका थिए। यमन रागको झलक रहेको यस गीतले निषाद स्वरमा विश्राम लिँदा, पानीकै तरलताको अनुभूति झल्काउँथ्यो ।
प्रस्तुतिका क्रममा आभासले आफ्नो सांगीतिक सृजना कर्ममा नयाँ नयाँ गीतकारहरू जोडिँदै आएको जनाएका थिए । त्यही क्रममा उनले पश्चिम बंगालको सिलगढीमा रहेर कविता तथा गीतमा कलम चलाइरहेका सञ्जय बान्तवाको शब्दमा रहेको 'नसुनाऊ मलाई धेरै झुठा तिम्रा कुरा' प्रस्तुत गरेका थिए ।
हरेक गीतको प्रस्तुतिसँगै आभासले त्यस गीतसँग जोडिएको रचनागर्भको चर्चा गरेका थिए । जसमा कहिले गीतकार जोडिन आइपुग्थे भने कहिले संगीतकार ।
कार्यक्रमको अन्तिमतिर आभासले आफ्नो प्रसिद्ध गीति रचना 'गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो, आफै फेरिएछ' प्रस्तुत गरेका थिए। यो गीतले नेपालको राजनैतिक नेतृत्वलाई करुणापूर्वक व्यङ्ग्य गरेको प्रतीत हुन्थ्यो ।
यसपालीको पलेंटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), सुन्दरकुमार महर्जन र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (बेस गिटार) र प्रविन पुलामी मगर (रिदम गिटार) को सहभागिता रहेको थियो ।
पलेंटीलाई अब संसारभरिको जुनसुकै कुनामा रहेर पनि प्रत्यक्ष अनुभव गर्न सकिने भएको छ । यसले आफ्नो 'लाइभ' प्रसारण पनि थालनी गरेको छ ।