नयाँ नेपाली फिल्म ‘बम बिहारी’ को शुभ मुर्हत गरिएको छ । बुधवार भक्तपुरमा रहेको हनुमान मन्दिरमा पूजा गर्दै यो फिल्मको मुर्हुत गरिएको हो । यो फिल्मको बुधवारदेखि नै छायांकन प्रारम्भ गरिएको छ । यो फिल्मलाई डिएमएस मल्लले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हुनेछ । उनले यो भन्दाअघि धेरै वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
नेपाली भूमिकी आमा तथा भारतीय भूमिका बुबाको एक छोराको कथा ‘बम बिहारी’ मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी फिल्मको कथा घुम्ने छ । निर्देशक मल्ल भन्छन् – ‘पछिल्लो समय फिल्ममा नयाँ कलाकार भए पनि कथा र मेकिङ राम्रो छ भने दर्शक सिनेमा हलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ यो फिल्ममा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहने छ ।
फिल्मको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगञ्जमा पनि हुनेछ । प्रारम्भमा काठमाडौंमा एक सातासम्म छायांकन गरेपछि फिल्मको युनिट नेपालगञ्जतर्फ लाग्ने छ ।
यो फिल्ममा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने ल्यांग्री दादा, ध्रुव बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहने छ । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा व्यस्त कलाकार सुमन ज्योती न्यौपानेले यो फिल्ममा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे । उनी भन्छन्– ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिका मै मन पराइदिनु भएको छ । यसमा पनि आशा राखेको छु ।’
अर्की मुख्य कलाकार झरना रिसालले सात वर्षपछि आफूले फिल्ममा पुनः काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि भूमि द ग्रेट लेडी, परिणाम, कसलाई आफ्नो भन्नु आदि फिल्ममा काम गरिसकेकी छिन् । झरनाको यो चौथो फिल्म हुनेछ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहने यो फिल्ममा सरोज बुढाथोकीको मेकअप रहने छ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ लाई रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् ।
फिल्ममा अनुपम चौधरीको गीत रहने छ । यो फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।