नेपाली फिल्म ‘भाईरल गोर्खे’ को ट्रेलर सार्वजनिक रिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ । सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे) ले गर्ने संघर्ष तथा अनौठा हर्कतको कथा यो फिल्मभित्र समेटिएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा हुर्किएको प्रवृत्तिलाई व्यंग्य तथा प्रश्न गर्दै फिल्म निर्माण गरिएको हो । यसअघि छड्के, लालपूर्जा तथा छड्के–२ जस्ता फिल्म निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो फिल्मले आफ्नो निर्देशकीय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर फिल्म देखाउने चाहाना पूरा गर्ने विश्वास व्यक्त गर्छन् निर्देशक श्रेष्ठ । समसामयिक तथा घर–घरको विषय भएकाले यो फिल्मलाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।
यो फिल्ममा सौगातको अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’ को रोचक तथा मर्मस्पर्शी ट्रेलरले दर्शकमाझ फिल्मप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी तथा निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यो फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने तथा केवल जंग कुँवर निर्माता रहेको यो फिल्ममा सह–निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी तथा निखिल पौडेल हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको यो फिल्मलाई लम्जुङको भुजुङ गाउँ, गोरखा तथा चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन् ।
यो फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ ।