नेपाली चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
घरमा पुलपुलिएर बसेको छोरो सहरमा आएर आफ्नै कमाइमा बाच्नु पर्दाको कठिन समय र आमाले छोरोको दयनीय अवस्था थाहा पाउँदाको क्षण ट्रेलरमा चित्रित छ । गाउँबाट सहर छिर्दा देखेको सपना काठमाडौं आइपुगेपछि कसरी चकनाचुर हुन्छ भन्ने आम नेपाली युवाको कथा ट्रेरलरमा देख्न सकिन्छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारहरुको अभिनय रहेको छ ।
गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर जीन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन संघर्ष देखाउँदै ट्रेलरले काठमाडौंको संघर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रष्ट पारेको छ ।
यसअघि निर्माणपक्षले ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरेको थियो । गीतमा मरिचमान श्रेष्ठको स्वर थियो । चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् ।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।