अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनले चर्चित गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ ल्याएको हो ।
सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग महेश प्रसाईंले पनि अभिनय गरेका छन् । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आएका उनले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत-संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।
म्याक्स बाबुको यात्रा संगीत र अभिनयमा मात्र सीमित छैन । उद्यमशीलता र कलाकारितालाई सन्तुलित रूपमा अघि बढाउँदै आएका उनी व्यावसायिक सफलतासँगै सांस्कृतिक पहिचान जोगाउने अभियन्ताका रूपमा पनि परिचित छन् । मञ्चमा होस् वा व्यवसायमा, उनको प्रस्तुतिमा आत्मविश्वास, मिहिनेत र नेपालीपनको स्पष्ट झल्को देखिन्छ, जसले उनलाई उद्यमी-कलाकारको प्रेरणादायी पहिचान दिलाएको छ ।
दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका म्याक्स बाबुले सिड्नीको आइकोनिक थिएटर, राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा प्रस्तुति दिएका छन् । पछिल्लो समय नेपाली चलचित्र ‘पीआर’ मा समेत उनको अभिनय देख्न सकिन्छ । कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायत चर्चित कलाकारसँग मञ्च साझा गरिसक्नुभएका म्याक्स बाबु आफ्नो नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी छन् ।
सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित छन् ।