तामाङ भाषाको फिल्म ‘ह्वाङ तामाङ (हामी तामाङ)’ विशेष शोमार्फत प्रदर्शन हुने भएको छ । यो फिल्मको विशेष प्रदर्शन चलचित्र विकास बोर्ड तथा अष्टनारायण सिनेमा हल, बालाजुमा यहि पुस यही पुस २६ गते शनिवार आयोजना हुँदैछ ।
तामाङ समुदायदेखि अन्य भाषाभाषी दर्शकले समेत हेर्न सक्ने गरी तयार गरिएको यो फिल्मका गीतमा निमा लामा तामाङको शब्द तथा संगीत रहेको छ । फिल्मको छायांकन सूर्य लामाले गरेका हुन् ।
निमा लामा तामाङद्वारा निर्देशित फिल्ममा तामाङ समाजको जीवनशैली, परम्परा, संस्कार, संघर्ष तथा पहिचानका विविध पाटालाई कथानकमा समेटिएको छ । फिल्ममा सामाजिक यथार्थ, परिवारिक सम्बन्ध तथा सांस्कृतिक गहिराइलाई रोचक र भावनात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
संगीत, नृत्य तथा तामाङ सांस्कृतिक पहिरनले यो फिल्मलाई थप जीवन्त बनाएको छ । फिल्मका निर्माता प्रवल थिङ तामाङका अनुसार ‘ह्वाङ तामाङ’ तामाङ भाषाको सम्भावना, कला तथा कथालाई मुख्यधारमा स्थापित गर्ने उद्देश्यले तयार पारिएको परियोजना हो ।
जिम्बा फिल्म प्रोडक्सनको चौथो प्रस्तुतिमा तयार भएको फिल्ममा कलाकारहरू जय स्याङ्तन, अभि लामा, सिताराम गोले, अनिता गोले, कल्पना वाइबा, निर्मला मोक्तान, राजकुमार स्याङतान, प्रबल थिङ, पूजा लामा, चन्द्रमाया दोङ, मङ्गल सिंह ग्याबा, छविलाल बोम्जनसहित दर्जनभन्दा बढी कलाकारहरूको अभिनय रहेको छ ।
सह–निर्माता कारसाङ लामा दोङले पनि फिल्मलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको बताएका छन् । विशेष शो पश्चात फिल्मले देशभरका तामाङ समुदाय बसोबास हुने मुख्य क्षेत्रहरूमा पनि प्रदर्शन यात्रा अघि बढाउने निर्माण पक्षले जनाएको छ ।