गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक गरिएको छ । लामा गुरुङ सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष ई.महेन्द्र बहादुर गुरुङको सभापतित्वमा भएको थियो । गौरव गुरुङको शब्द रचना एवं मदनसिंह नेपालीको संगीत रहेको ‘छ सलाम मायालाई’ गीतको भिडियोलाई कार्यक्रमका बीचमा सार्वजनिक गरिएको हो ।
लामा गुरुङ सेवा समाजका संस्थापक तथा परिकल्पनाकार स्व.क्या.ईन्द्रजित गुरुङ तथा स्व.श्रीमती महालक्ष्मी गुरुङको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा उपस्थित रहेका अतिथिहरुलाई समाजका उपाध्यक्ष समेत रहेका पूर्व उपरथी नवराज गुरुङले मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव सञ्जु गुरुङले गरेका थिए ।
कार्यक्रममा सहायकरथी गीतकार गौरव गुरुङ, संगीतकार मिलन सिंह नेपाली, संगीतकार मिलन मोक्तान, पूर्व उपरथी गीतकार डा.आश बहादुर तामाङ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतको आतिथ्यता रहेको थियो ।
भिडियो विमोचनपछि गीत, संगीत र गायनको बारेमा संगीतकार मदनसिंह नेपालीले मन्तव्य राखेका थिए । कार्यक्रममा सभापति तथा अतिथिद्वारा स्रष्टाहरुलाई सम्मानसमेत गरिएको थियो । रचनाकार गौरव गुरुङ, संगीतकार मदनसिंह नेपाली, भिडियो निर्देशक मिलन मोक्तान, पटकथा लेखनको तर्फबाट पूर्व उपरथी डा.आश बहादुर तामाङलाई मायाको चिनो दिएर सम्मानसमेत गरिएको थियो ।
मिलन मोक्तानले गीतको अडियो अनुसार भिडियोलाई प्रस्तुत गर्न सकेसम्मको सिर्जनात्मक विवेक लगाएको समेत बताए । कार्यक्रममा गायक भरतचन्द्र गुरुङका पिता एवं लामा गुरुङ सेवा समाजका संस्थापक तथा परिकल्पनाकार क्या.ईन्द्रजित गुरुङको योगदान र जीवन कहानीका बारेमा लेखिएको पुस्तक मायाको चिनो स्वरुप उपस्थित सबैलाई प्रदान गरिएको थियो ।