चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन् । जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन् । जहाँ उनी दयाहाङको छोरीको भूमिकामा छिन् ।
दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन्, शाइसा गौचन । जो आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा छिन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देख्न सकिन्छ ।
ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय यतिबेला दर्शकले मनपराइरहेका छन् । पोखराकी शाइसाको ‘मिरमिरे’ डेब्यु चलचित्र भने होइन । यसअघि उनेले दुईवटा चलचित्रमा काम गरिसकेकी छन् । शाइसाले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’मा छोटो भूमिका निभाएकी थिइन् ।
“यसअघिका चलचित्रमा पनि शाइसाले दयाहाङसँगै काम गरेकाले मिरमिरेमा काम गर्न सहज भयो,” मिरेमिरेका लेखक तथा निर्देशक यमले भने, “दयाहाङ दाइसँग यसअघि नै घुलमिल नभएको भए सायद सुरुसुरुमा काम गर्न कठिन हुने थियो ।”
यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
यमले शाइसाको काम दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । बच्चासँगै सबै उमेर समूहका दर्शकले शाइसाको काम दर्शकले मन पराउने यमको विश्वास छ । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।