चलचित्र‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ । ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।
गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेम र सम्बन्धको कथा छ । दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ । प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ ।
प्रेम र आशंकालाई केन्द्रमा राखेको गीतले माया बुझ्न हुने गरेको कठिनाई र त्यसले जिन्दगीमा पार्ने प्रभावलाई उल्लेख गरेको छ । गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ । उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि–बुकिङ खुला भएको छ । देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ । यो समाचार तयार पार्दासम्म ‘द ब्लू लाइट’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ ।
यसैगरि, देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ५ वटा आउटलेटमा ८ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन् । केही हलहरुमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको र देशभर करिब १ सय २० शो भन्दा बढी पाउने जानकारी वितरण कम्पनी डिसिएन दिएको छ ।
चलचित्रलाई दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ । ‘द ब्लू लाइट’मा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
चलचित्र ‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको'द ब्लु लाइट'को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।