अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो ।
नेपालमा सुपरहिट बनेको यो फिल्म दक्षिण छिमेकी मुलुकमा प्रदर्शनमा आउन लागेको हो । दार्जिलिङ, सिक्किम, कालिम्पोङ, देहरादुन, सिलिगुडी, नयाँ दिल्ली र कोलकातासहित नेपालीभाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँका हलमा फिल्म लाग्नेछ । कतिपय हलले अग्रिम टिकट विक्री खुलाएको जनाइएको छ ।
रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ (बिहीबार) गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियरमा अभिनेता अनमोल केसी, भुवन केसी, अभिनेत्री जसिता गुरूङलगायत कलाकार तथा प्राविधिक टोली सहभागी हुनेछन्।
फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरूङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायत कलाकारहरूको अभिनय रहेको छ । भारत प्रदर्शनको व्यवस्थापन असली प्रोडक्सनले गरेको हो ।
भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा यो फिल्मको रिलिजले अर्थपूर्ण भूमिका खेल्ने अपेक्षा निर्माण टिमको छ ।