‘विराट फिल्म एण्ड म्युजिक अवार्ड’ को चौथो संस्करण बुधवार चलचित्र विकास बोर्डको प्रेक्षालयहलमा सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा आयोजित ‘चौथो विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा फिल्म र गीत संगीतका गरेर ३५ विधामा अवार्ड प्रदान गरियो ।
कार्यक्रमका संयोजक सुरज पौडेलले यस क्षेत्रको विकासका लागि प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रम संयोजक पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ २४ विधा तथा फिल्मतर्फ १२ विधा गरी जम्मा ३६ विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका फिल्म तथा गीत–संगीत कृतिहरूलाई समेटेर उत्कृष्ट पाँच नोमिनेसन तय गरिएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा सम्पन्न यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन आएका फिल्म तथा सार्वजनिक गीत–संगीतलाई समावेश गरिएको थियो । साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।
समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५५५ रुरुपैयाँसहित सम्मान प्रदान गरियो । समारोमा पत्रकार कलाकर्मी डटकमका प्रधान सम्पादक पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरियो ।
अवार्ड कार्यक्रमको जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा, छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा तथा गायक नविन कुमार पौडेल रहेका थिए ।
कार्यक्रममा लेखक तथा निर्देशक काजी लिम्बु, कलाकार श्रेया दुलाल, निर्माताद्वय सुनिता सापकोटा तथा राम नारायण उपाध्याय र विज्ञान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा थुप्रै कलाकार, संगीतकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले गरेका थिए ।