जेनजी आन्दोलनका बिषय समेटिएको वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा जेनजी आन्दोलनका तीन सहित परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (जसले बानेश्वर संसद भवन अगाडिको श्रीमान् गुमाइन)्, कीर्तिपुरका विष्णु बहादुर तामाङ (शहीद बुद्धि बहादुर तामाङका बुबा) र पार्वती अधिकारी(जसले आन्दोलनमा आफ्ना छोरा गुमाइन्)को उपस्थितीमा गीत सार्वजनिक गरिएको हो ।
गायक सत्यराज आचार्यको स्वर, वरिष्ठ सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको यस गीतले राष्ट्रियता, सामाजिक यथार्थ र देशको वर्तमान अवस्थालाई समेटेको छ । शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ ।
भिडियोमा एकातिर ‘जेनजी’ पुस्ता सडकमा अधिकारका लागि आन्दोलन गरिरहेका र रगत बगाइरहेका मार्मिक दृश्यहरू छन् भने, अर्कोतिर सत्ताको बागडोर सम्हालेका नेताहरू बन्द कोठामा कुर्सीको खेलमा व्यस्त रहेको देखाइएको छ । विशेष गरी आन्दोलनको क्रममा सडकमा छाडिएको रगत लतपतिएको जुत्तालाई भिडियोमा प्रतिकका रूपमा प्रयोग गरिएको छ। भिडियोमा गीतकार महरा जेनजी सहिदको आमाको रुपमा प्रस्तुत भएकी छन् । उनले सहिद भएपछि आमाले भोजेको दुःख महरा मार्फत देखाइएको छ ।
भिडियोका परिकल्पनाकार उज्वल जंग शाह हुन् । कार्यक्रममा शाहले आन्दोलनमा ज्यान गुमाउने युवाहरूको सम्मानमा भिडियो निर्माण गरिएको बताए । उनले भिडियो एक ऐतिहासिक दस्तावेज भएको बताउदै शहिदका सपना र वर्तमान व्यवस्थाको अवस्थाबारे आउँदो पुस्तालाई झक्झकाउने बताए ।
आफु पनि एक जेनजीको आमा भएको बताउदै देशमा ७२ जना शहीद हुनु सामान्य कुरा नभएको बताइन् । उनले शान्तिपूर्ण परिवर्तन खोज्ने युवामाथि गोली बर्साइनु दुःखद भएको बताउदै युवाहरू काम खोज्दै विदेश पलायन भइरहेका छन्, तर सरकार र राजनीतिक नेतृत्व भने सत्ताकै लुछाचुँडीमा लागेको आरोप लगाइन् । महराले २३ र २४ गतेका घटनाहरूले आफूलाई यो गीत लेख्न प्रेरित गरेको समेत बताइन् ।
कार्यक्रममा उपस्थित शहीद परिवारले आन्दोलन र त्यसपछिको पीडा सुनाउँदै राज्यले घोषणा गरेको सहयोग समेत नपाएको गुनासो गरे । आफ्नो परिवारको सदस्य गुमाउँदाको पीडामा मल्हम लगाउनुको साटो राज्यले उपेक्षा गरेको उनीहरूको भनाइ थियो । राजेश घिमिरेको छायाङ्कन र सतिश श्रेष्ठको सम्पादन रहेको गीतले विविधतामा एकता र देश सुधारका लागि सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिएको छ ।